आज राष्ट्रिय धान दिवस मनाइँदै


१५ असार २०७८, मंगलवार १०:४० मा प्रकाशित

आज राष्ट्रिय धान दिवस मनाइँदै छ । विक्रम संवत् २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

देशको मुख्य अन्नबाली धान खेतीमा प्रोत्साहन गर्न दिवस मनाउने गरिए पनि धान उत्पादन बढाउन भने चुनौती छ । चालु आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा ४४ अर्ब ४६ करोडको चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ । बर्सेनि चामलको खपत बढिरहे पनि त्यसअनुसार धान उत्पादन हुन सकेको छैन ।गएको वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

थप ६ हजार टन धान उत्पादन हुन सकेमा नेपाल धानमा आत्मनिर्भर हुने सरकारको दाबी छ । यो वर्ष ६० लाख टन धान उत्पादन गर्ने सरकारको लक्ष्य छ । कृषि मन्त्रालयका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल आत्मनिर्भर हुन्छ । सात वटै प्रदेशमध्ये प्रदेश-१ र लुम्बिनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अरु सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ । धान उत्पादन बढाएर आत्मनिर्भर हुन सबै प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । चामलको आयात घटाउने हो भने मसिनो र बास्नादार धानलाई प्राथमिकता दिनुपर्ने विज्ञको सुझाव छ ।यो वर्ष मनसुनको सुरुमै पानी परेकाले देशका धेरै ठाउँमा समयमै रोपाइँ सुरु भएको छ ।

यसैबीच असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ  यसबेला दही चिउराले शरीरमा शीतलता भइ शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here