सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्ने


१ असार २०७८, मंगलवार ०९:४० मा प्रकाशित

काठमाण्डौ । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने भएका छन् । अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन अनुसार हरेक असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

केन्द्र सरकारले सात प्रदेश सरकारलाई १ खर्ब ३ अर्ब रुपैयाँका लागि चार किसिमको अनुदानको सीमा दिएको छ । राजस्व बाँडफाँडबाट प्रदेशले झण्डै ६३ अर्ब रुपैयाँ पाउँदैछन्। यसबाहेक एक खर्बभन्दा धेरै रकममा भने ५५ देखि ६५ अर्ब रुपैयाँ बचत बजेट हुनेछ । गएका वर्षमा जस्तै यो वर्ष पनि प्रदेशहरुको खर्च स्थिति कमजोर छ ।

वैशाख मसान्तसम्म सातै प्रदेशले औसत ३५ प्रतिशत पनि खर्च गर्न सकेका छैनन् । २ खर्ब ६४ अर्ब रुपैयाँको बजेटमध्ये वैशाख मसान्तसम्ममा ९४ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । दुई महिनामा थप २५ प्रतिशत बजेट खर्च हुनसक्दा प्रदेशहरूको औसत खर्च ६० प्रतिशत हुने अनुमान छ ।

गएको वर्षजस्तै ठूलो आकारको बजेट देखाउन केन्द्र सरकारबाट ऋण लिएर पूर्ति गर्ने शीर्षकमा बजेट ल्याइयो भने १० देखि १५ अर्ब रुपैयाँ बजेट बढ्ने सम्भावना रहेको छ ।केन्द्र सरकारबाट ऋण नउठाउने गरी बजेट ल्याइयो भने बजेटको आकार चालु वर्षको भन्दा कम हुने सम्भावना रहेको छ ।

आउँदो आर्थिक २०७८/७९ का लागि प्रदेश-१ सरकाले १६ अर्ब २९ करोड ३६ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here