माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे


२३ जेष्ठ २०७८, आईतवार २०:२५ मा प्रकाशित

माेरङ । नेकपा माओवादी केन्द्रले गएकाे चैत १६ गतेको संसदीय दलको बैठकको निर्णय आज (आइतवार) कार्यान्वयनमा ल्याएको छ ।माओवादी केन्द्रको २०७७ चैत १६ गते बसेको संसदीय दलको बैठकले दलको नेतालाई सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार दिएको थियो ।त्यही अधिकार प्रयोग गरेर सरकारबाट फिर्ता भएको पत्र माओवादी केन्द्र संसदीय दलले प्रदेश सभा सचिवालयमा बुझाएको छ ।

माओवादी केन्द्र संसदीय दलको तर्फबाट दलका नेता इन्द्र आङ्बोले पत्र बुझाएसँगै प्रदेश १ को सत्ता साझेदार दल माओवादी केन्द्रले विधिवत् रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।आङ्बोले संसदीय दलको बैठकले दलका नेतालाई दिएको अधिकार प्रयोग गर्दै आइतवार सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसद् सचिवालयलाई जानकारी दिनुभएकाे छ ।यसअघि माओवादी केन्द्रले सरकारबाट हटे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन ।बजेट अधिवेशनको सङ्घारमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुलाई रणनीतिक मानिएको छ ।

प्रदेश सरकार गठनको समयमा माओवादी केन्द्र संसदीय दलको तर्फबाट नेकपा एमालेलाई समर्थन दिइएको थियो । एमाले र माओवादी मिलेर नेकपा भएपछि उनीहरू एउटै दलको सदस्यका रूपमा सरकारमा सहभागी भएका थिए । यसैबीच सोमवार दिउँसाे २ बजे प्रदेश सभाको आठौँ अधिवेशन बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here