एमाले सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन


१३ जेष्ठ २०७८, बिहीबार १०:४६ मा प्रकाशित

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना ३ मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ ।प्रदेश समितिको तर्फबाट अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका हुन् ।

सचिव रावलका अनुसार पार्टीको स्थायी कमिटी बैठकको निर्देशन बमोजिम माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिइएको हो ।गत शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुरूप तीनै मन्त्रीलाई ११ जेठमा सरकारबाट फिर्ता हुने पत्र काटिएको थियो । तर बुधबार नै बसेको एमाले सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । केन्द्रको स्थायी समितिको निर्णयलाई चुनौती दिँदै प्रदेशको संसदीय दलको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

सुदूरपश्चिम एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत छ भने अहिले फिर्ता बोलाइएको तीनै जना मन्त्री माधव नेपाल पक्षीय हुन् । संसदीय दलको निर्णयलाई ओली पक्षका प्रदेश सभा सदस्यहरुले भने नमान्ने बताइसकेका छन् ।पार्टीले निर्देशन दिए पनि मन्त्रीहरु भने सरकारबाट फिर्ता नहुने मुडमा देखिएका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा सभामुख सहित एमालेका २५ जना सदस्य छन् । उनीहरुमध्ये वरिष्ठ नेता माधव नेपाल पक्षका १८ र ओली पक्षका ६ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here