झापा । कोरोना संक्रमणले महामारीको रुप लिँदा अक्सिजनको चरम अभाव भइरहेका बेला झापाका सामाजिक संघसंस्थाहरु अक्सिजन सिलिन्डर जुटाउने अभियानमा सक्रिय हुन थालेका छन् ।
‘एकका लागि एक अभियान’ले अक्सिजन बैंक स्थापना गर्नका लागि ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियान अघि बढाएपछि सामाजिक संघ संस्थाहरुले यस अभियानलाई सघाउन थालेका हुन् ।अभियानलाई मंगलबार नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) झापाले पनि तीन लाख रुपैयाँ प्रदान गरेको छ ।संस्थाले झापालगायत नेपालका अन्य विभिन्न स्थानमा रहेका शैक्षिक परामर्श केन्द्रहरुबाट रकम संकलन गरेर अभियानलाई बुझाएको हो ।
अभियानका लागि ईक्यान झापालाई अष्ट्रेलियन हार्वर इन्टरनेशनल कलेजबाट पनि नगद एक लाख रुपैयाँ प्राप्त भएको थियो ।यसबाहेक नेपालभर छरिएर रहेका शैक्षिक परामर्श केन्द्रका सञ्चालकहरुले पनि ईक्यान झापालाई यस अभियानका लागि आर्थिक सहयोग गरेका थिए ।
एक कार्यक्रमबीच अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई संघका झापा अध्यक्ष सुमन शर्मा जमरकट्टेलको नेतृत्वमा बुधबार रकम बुझाइएको हो ।संघले २० थान अक्सिजन सिलिन्डरबापतको रकम हस्तान्तरण गरेको ईक्यान झापाका कोषाध्यक्ष राजकुमार कार्कीले जानकारी दिनु भयो ।
चेक हस्तान्तरण कार्यक्रममा ईक्यानका केन्द्रीय सदस्य तथा झापाका सल्लाहकार पुष्पराज भट्टराई, ईक्यान झापाका उपाध्यक्ष मिलन ओली, कोषाध्यक्ष राजकुमार कार्कीलगायतको सहभागिता थियो ।





