काठमाण्डाै । अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतको जनजीवन अस्तव्यस्त भएको छ ।
तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्यान गएको छ भने एक लाख ५० हजार जना विस्थापित भएका छन् ।सबैभन्दा धेरै मुम्बई प्रभावित भएको छ ।नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको थियो ।चक्रवातका कारण मुम्बई, थाणे, रायगढ लगायत क्षेत्रको जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।यस्तै, कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ ।
समुद्रमा चार मिटरसम्म लहर उठेको छ ।यो चक्रवात गएराति १८५ किलोमिटर प्रतिघण्टाको गतिमा गुजरातमा आइपुगेको छ ।गुजरातका तटीय क्षेत्रका डेढ लाखभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र, गुजरात, गोवाका मुख्यमन्त्रीसँग चक्रवातले पार्ने प्रभाव रोकथामका लागि छलफल गर्नु भएको छ ।





