सत्यमोहन जोशीको आज १०२ औँ जन्मोत्सव


३० बैशाख २०७८, बिहीबार ०८:५२ मा प्रकाशित

काठमाण्डाै  । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज १०२ औँ जन्मोत्सव मनाउँदै हुनुहुन्छ ।

उहाँ विसं १९७७ बैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएको हो ।संस्कृतिविद् जोशी १०२ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।साहित्य लेखनसँगै संस्कृति र परम्पराका बारेमा उहाँले कलम चलाउँदै आउनुभएको छ ।

उहाँलाई लोक संस्कृति र इतिहासको पुस्तकालय भनेर समेत चिनिन्छ ।तीन पटक मदन पुरस्कार विजेता जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति प्रकाशित छन् ।२०१३ सालमा ‘नेपाली लोक संस्कृति’, २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि उहाँले मदन पुरस्कार पाउनुभएको छ ।

उहाँले झण्डै ५० पुस्तक लेख्नु भएको छ । नेपाल राष्ट्र बैंकले गएको भदौमा संस्कृतिविद् जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का समेत सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here