काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको ७२ घण्टाको समयसीमा आज सकिँदै छ।
सोमबार संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न आव्हान गरेको समयसीमा आज राति ९ बजे सकिन लागेको हो । दलहरुको नयाँ सरकार गठन गर्न दौडधुप जारी छ।
नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाएपनि ठोस सफलता भने अझै लागेको देखिएको छैन। अहिले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार बन्ने सम्भावनामा एमालेको नेपाल पक्ष र जसपाको ठाकुर पक्ष निर्णायक देखिएको छ। जसपाको ठाकुर पक्ष काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पक्षमा नदेखिँदा कांग्रेस अलमलमा छ।
कसरी बन्छ नयाँ सरकार
संविधानको धारा ७६ को (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउनु पर्ने छ। ३८ महिनापछि संसद्मा आफ्नो शक्ति जाँच्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत गुमाए। उनले गत सोमबार विश्वासको मत लिँदा जम्मा ९३ मत पाए, जुन कुल सांसद संख्याको करिब ३५ प्रतिशत मात्रै हो। तीनबर्ष अघि प्रधानमन्त्रीको सपथ खाँदा १९३ सांसद अर्थात करिब ६४ प्रतिशतको समर्थनसहित सरकारको नेतृत्व गरेका ओली अहिले अल्पमतमा परेपनि विपक्षीहरुसँग पनि बहुमत छैन।आजसम्म सरकार बनाउन चाहिने १३६ सांसद पुर्याउन दलहरुलाई चुनौति देखिन्छ। जसले प्रधानमन्त्री ओली ७६ (३) मा प्रवेश गर्ने सम्भावनाले विपक्षीलाई अत्याएको छ।
गठबन्धनको सरकार बनाउने संख्या पुग्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा ३२ मध्ये कम्तिमा २६ सांसदको साथ चाहिन्छ। तर जसपाको उपेन्द्र यादव पक्षले सरकार गठनमा पहल लिएपनि १५ सांसद रहेको महन्थ ठाकुर पक्षले सरकारमा सामेल नहुने स्पष्ट पारेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएको एमालेकै माधव नेपाल पक्षले राजीनामा दिए सरकार बन्न सक्छ।





