काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैले विघटन गरेको संसदमा विश्वासको मत माग्ने नैतिकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएको टिप्पणी गरेका छन्।
सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताए। उनले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह गरे।
ओलीको कार्यशैलीकै कारण विश्वासको मत प्राप्त गर्ने स्थिति नभएको भन्दै उनले बरु ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन मार्ग प्रशस्त गर्न विगतमा पनि आग्रह गरेको र अहिले पनि त्यही सुझाव दिने उनले बताए। ओलीलाई अहिले पनि संसद विघटनको निर्णय सही नै लागेको उनले बताए।
प्रधानमन्त्रीले ठूलठूला आमसभा गरेर कोरोना फैलाएको प्रचण्डको आरोप छ। प्रधानमन्त्रीले खासै काम गर्न नसकेको भन्दै प्रचण्डले गरेका कामको भन्दा नगरेका कामको धेरै प्रचार गरेको बताए।
प्रधानमन्त्रीले सबैलाई विश्वासको मत दिन भनेको सुनाउँदै प्रचण्डले प्रधानमन्त्री बाहेक सबैले विपक्षमा मत हालेर इतिहास रच्न अनुरोध गरे।





