काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।
शनिबार नयाँ बानेश्वरस्थिति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो। बैठकले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।
ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने तर विश्वासको मतको विपक्षमा मत दिने निर्णय बैठकले गरेको खाँडले जानकारी दिए।
प्रधानमन्त्रीको विश्वासको मत लिने प्रयास असफल हुने भएकाले अविश्वासको प्रस्ताव ल्याउनुको औचित्य नभएको प्रमुख सचेतक खाँडको भनाई थियो।
प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन्।





