काठमाडौं । पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच आज भेटघाट हुने भएको छ।
दुई नेताबीच पार्टी कार्यालय थापाथलीमा भेटघाट हुने तय भएको स्रोत बताउँछ। तर समय भने तोकिएको छैन्।
एमाले भित्रको विवाद साम्य हुने संकेत देखिएको छ। बिहीबार दोस्रो तहका नेताहरुको मेरियट भेटघाट र वरिष्ठ नेता माधव नेपालले राष्ट्रपतिसँग भेटघाट गरेपछि विवाद साम्य हुने संकेत देखिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न पुगेका एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले त्यस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता भएको थियो। शितल निवासमा ३ घण्टा बिताएका नेता नेपाल र अध्यक्ष ओलीबीच राष्ट्रपति विद्यादेवि भण्डारीलाई साक्षी राखेर सहमति भएको स्रोत बताउँछ। तर उनीहरुबीच कस्तो सहमती भएको भन्ने खुलाइएको छैन्।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने प्रधानमन्त्री ओली र नेता नेपालबीच हिजो टेलिफोनमा संवाद भएको बताएका छन्।
त्यस्तै बिहीबार नै एमालेको दोस्रो तहका नेताले पनि सम्वाद गरेका थिए। बिहीबार मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेका विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरुसँग भेटवार्ता गरेका हुन्। अर्थमन्त्री समेत रहेका पौडेलले योगेश भट्टराईलाई भेटेका थिए। त्यसपछि सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरे। तीन नेताबीच करिव आधा घण्टा कुराकानी भएको थियो।
यसअघि बुधबार महासचिव ईश्वर पोखरेल र योगेश भट्टराईबीच भेटवार्ता भएको थियो।





