आजदेखि आन्तरिक हवाइ उडान बन्द हुने


२० बैशाख २०७८, सोमबार ०९:२२ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्नका लागि आजदेखि हवाइ उडान पनि बन्द गरिने भएको छ।

मन्त्रिपरिषदको हिजो बसेको बैठकले आज राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। उनका अनुसार पर्सि अर्थात् वैशाख २२ गतेदेखि सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गरिनेछ। वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिए पनि हवाइ उडान भने निरन्तर चलिरहेको छ।

अत्यावश्यक पर्दा चार्टर्ड उडानका लागि अनुमति दिइने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री गुरुङले बताए। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले पनि हवाइ सेवा बन्द गर्न सिफारिस गरेको थियो।

सार्वजनिक यातायात संचालनमा रोक लगाएर हवाई सेवा खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध हुँदै आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here