प्रदेश २ को प्रदेशसभा बैठक आज, चार सांसदले पद गुमाउँदै


३० चैत्र २०७७, सोमबार ०९:०८ मा प्रकाशित

काठमाडौं । प्रदेश २ को प्रदेशसभा बैठक झण्डै ६ महिनापछि आज बस्दैछ। ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौं अधिवेशन सुरु गर्न लागिएको हो।

बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा संसद सचिवालयका सचिव रन्जितकुमार यादवले जानकारी दिए। प्रदेशसभा संसद् सचिवालयका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो।

बैठकअघि कार्य व्यवस्था समितिको बैठक बस्ने भनिएको छ। तर‚ नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको छ।

पाँचौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची छ। यस्तै‚ प्रदेश २ मा नेकपा एमालेको माधव–झलनाथ समूहले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुघन महतोलाई चयन गरेको छ। यस्तै‚ माओवादीले चारजना संसदलाई कारबाही गरेको छ। माओवादी केन्द्रबाट निर्वाचित सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरको सांसद पद गुम्ने छ। उनीहरु नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमाले गएका छन्।

एमालेमै बस्ने निर्णय गरेपछि गत शुक्रवार चारै सांसदलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २४ घण्टे स्पष्टीकरण सोधेका थिए। तर उनीहरुले स्पष्टीकरणको जवाफ दिएनन्।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिए पनि कारबाही गर्ने भएपछि उनीहरु स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुगेका छन्। स्पष्टीकरण नबुझाएपछि सम्भवतः आजै उनीहरुले सांसद पद गुमाउनेछन्।

प्रदेश २ का सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठकमा चार सांसदको पद रिक्त भएको सूचना प्रदेशसभा बैठकलाई जानकारी गराउन सक्नेछन्। यसअघि माओवादीबाट सांसद बनेका संघीय सांसदका चार र लुम्बिनी प्रदेशका दुई सांसद पदमुक्त भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here