एमाले संसदीय दलको बैठक बस्दै, खनाल–नेपाल समूह नजाने


५ चैत्र २०७७, बिहीबार ०८:२० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

एमालेको नेपाल–खनाल समूहको भेला चलिरहेका बेला ओलीले संसदीय दलको बैठक बोलाएका हुन्। बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।

सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएको उनले बताए। भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा मुख्य सचेतकको जिम्मेवारी दिएका छन्। तर नेकपाको नेपाल–खनाल पक्षले भने आजको संसदीय दलको बैठकमा नजाने बताएको छ। व्यस्तताका कारण उपस्थित हुन नसक्ने नेपाल खनाल पक्षले जनाएको छ।

आजको बैठकमा नजाने भएपनि आगामी बैठकमा भने सहभागी हुने यो समूहले जनाएको छ। नेपाल खनाल पक्ष राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त छ। नेपाल खनाल पक्षको भेला आज बेलुकी पाँच बजेसम्म चल्नेछ, तर संसदीय दलका नेता केपी शर्मा ओलीले विहान ११ बजेका लागि दलको बैठक बोलाएका हुने। एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अरु दिन बैठक बोलाए जाने बताए। तर नेपाल खनाल पक्षले बालुवाटारमा बोलाउने बैठकमा नजाने बताउँदै आएको छ। आजको बैठक पनि ओलीले बालुवाटामार बोलाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here