काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यवसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताएका छन् ।
सोमबार शितल निबासमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोहमा उनले चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको बताएका हुन् ।
औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको राष्ट्रपति भण्डारीको भनाई छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत महामारी, बाढी, पहिरो, कोभिड–१९ जस्ता प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई राहत तथा पुनःस्थापना गर्ने कार्यमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० वर्षे इतिहास झल्कने स्मृति ग्रन्थ प्रकाशित गरेको छ । त्यस्तै राष्ट्रपति भण्डारीले ७० वर्षको अवधिमा अध्यक्ष भई संस्थाको नेतृत्व गरेका पूर्वअध्यक्षहरूलाई सम्मान गरेका थिए । दिवंगत अध्यक्षहरूका परिवार तथा सन्ततिहरूले सम्मान ग्रहण गरीएको थियो ।





