स्थायी कमिटी बैठक ३ बजेलाई सारेर कानूनविद्सँग परामर्शमा दाहाल–नेपाल समूह


२४ फाल्गुन २०७७, सोमबार १२:४२ मा प्रकाशित

काठमाडौँ । साबिक नेकपाको दाहाल–नेपाल समूह स्थायी कमिटी बैठक अपराह्न ३ बजेलाई सारेर कानूनविद्हरूसँग परामर्शमा जुटेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ३ बजेलाई सारिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

‘साविकका एमाले र माओवादी केन्द्रको एकता नै अस्वीकार गरेर सर्वोच्चले फैसला गरेपछि जटिलता निम्तिएको छ । यसमा अझै गहन र बृहत छलफलको आवश्यकता देखियो,’ साहले भने,’त्यसैबारे अझ प्रष्ट दृष्टिकोण बनाउन अध्यक्षहरू कानूनविद्हरूसँग परामर्शमा हुनुहुन्छ ।’

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-नेपाल समूहले आइतबारदेखि नै कानूनविद्हरूसँग सघन छलफलमा छन् ।

आइतबार साँझ पनि सिंहदरबारमा कानूनबिद्संग छलफल गरेका थिए । सो छलफलमा कानूनविद्हरूले अदालतको फैसलाको पुनरावलोकनमा जान सुझाएका थिए ।

कानूनविद्हरूको सुझाव र स्थायी सदस्यहरूको धारणालाई आधार बनाउँदै दाहाल–नेपाल समूहले धारणा तय गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here