काठमाडौं । प्रतिनिधि सभाको हिउँदे ‘अधिवेशन’ आज शुरू हुँदैछ । गत पुस ५ गते विघटित प्रतिनिधिसभा यही फागुन ११ गते सर्वोच्च अदालतबाट पुनस्र्थापित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलाशले फैसलाको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश जारी गरेको थियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएको अवस्थामा हुन लागेको प्रतिनिधि सभाको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।
आज अपराह्न ४ बजे प्रतिनिधि सभा बैठक शुरू हुनेछ । संसदको हिउँदे अधिवेशन विधेयक अधिवेशनका रूपमा मानिन्छ । यसपटक भने नेपालको संविधान बनेपछि पहिलोपटक सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता हुने वा सरकारले विश्वासको मत लिनुपर्ने अवस्थामा अधिवेशन शुरू हुन लागेको छ ।
सत्तारुढ नेकपाको एक खेमामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष छन् । अर्को खेमामा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष छन् । प्रचण्ड—माधव खेमाले ओलीलाई अध्यक्ष र पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।
ओली खेमाले भने द्वितीय अध्यक्षमा प्रचण्डलाई कायमै राखेको छ । प्रचण्ड—माधव खेमाले पार्टीको आधिकारिकताका लागि निर्र्वाचन आयोगमा निवेदन दिएको भए पनि आयोगले ठोस निर्णय गरेको छैन ।
आजको संसद बैठकमा नेकपाको प्रचण्ड—माधव खेमाले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेको छ । यो खेमाको संसदीय दलको बैठकले प्रधानमन्त्रीको राजीनामा नआएको अवस्थामा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।





