जेठको दोस्रो साताबाट एसईई, पाँच लाख परीक्षार्थी सहभागी हुँदै


१२ फाल्गुन २०७७, बुधबार १९:५३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले (९–१०) यस वर्षको एसइई परीक्षा आगामी वर्षको जेठ महिनाको दोस्रो साताबाट सुरु हुने जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको र जेठको दोस्रो साताभित्र एसईईको परीक्षा सञ्चालन गर्ने गरी काम भइरहेको हो ।

‘परीक्षाको लागि प्रश्नपत्र तयार गर्ने लगायत काममा जुटिरहेको र बोर्डले गर्नुपर्ने आन्तरिक कार्य सकेर केही समयपछि परीक्षाको मिति सार्वजनिक गरीने जनाइएको छ ।

यस वर्षको एसईई परीक्षामा करीब पाँच लाख परीक्षार्थी सहभागी हुने अपेक्षा गरिएको परीक्षा नियन्त्रक खकुरेलले बताए । अघिल्लो वर्षको जसरी परीक्षा दिन पाइन्छ भन्ने आशले यो वर्ष ग्रेड वृद्धिका लागि धेरै पुराना विद्यार्थीहरुले समेत परीक्षा आवेदन फाराम भरेको उनले जानकारी दिए ।

नेपाल सरकारले शिक्षा नियमालीको नवौं संशोधन गरेर जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रोभित्र सुरु गर्ने गरी तयारी गरि रहेको छ ।

गत वर्ष कोभिड–१९ का कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको बोर्डले यो वर्ष भने राष्ट्रियस्तरमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

संविधानले माध्यामिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिए पनि एसईई परीक्षा सञ्चालन ऐन नबनेका कारण सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी यस वर्षको एसईई सञ्चालनको अधिकार बोर्डलाई दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here