काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मुलुकको समग्र सुरक्षा अवस्थाक बारेमा जानकारी लिएका हुन्।
प्रधानमन्त्री ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिदै जाँदा मुलुकको सुरक्षा अवस्थालाई मजबुद बनाउन पनि निर्देशन दिएको बुझिएको छ ।
त्यस्तै प्रतिवन्धीत बिप्लव समूहको गतिविधीका बारेमा पनि उनले जानकारी लिएको बताइएको छ । बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा समेत सहभागी रहेका थिए ।
समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।
सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो । सुरक्षा परिषद् पछि बालुवाटारमा नै प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एकघण्टा छलफल भएको थियो ।





