काठमाडौँ । उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज फेरि परीक्षण गरिने भएको छ ।
सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि फेरि परीक्षण गर्न लागिएको हो ।
गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो । अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए ।
आज बिहान ११ बजे पानी पठाउन थालिने उनले जानकारी दिए । सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने मन्त्रालयले बताउँदै आएको छ ।
यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा असार ३० मा दुर्घटना भएको थियो ।





