काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् ।
जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीमा रहेको शव बुझेका हुन् । घटनाको अनुसन्धानमाथि चित्त नबुझेसम्म शव नउठाउने परिवारको अडान थियो ।
पीडित परिवारका सदस्यसँग समेत अभियुक्त दिनेश भट्टले बलात्कारपछि हत्या गरेको बताएपछि आफन्तले शव उठाएका हुन् ।
प्रहरीका अनुसार परिवार सहमत भएपछि १५ दिनपछि भट्टको शव उठाइएको छ । दिनेशविरुद्ध ५ दिन म्याद थप गरेर प्रहरीले जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक सोधपुछमा दिनेशले पारिवारिक रिसिइबीको बद्ला लिन हत्या गरेको बताएका छन् ।





