प्रजातन्त्र दिवस : आजबाट तीन दिन सम्म मनाइने


६ फाल्गुन २०७७, बिहीबार ०८:२५ मा प्रकाशित

काठमाडौं । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आजदेखि तीन दिनसम्म देशभर विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ।

यस अवसरमा राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ राष्ट्रिय दिवसका रुपमा मनाउन लागिएको छ। गत माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो। सो बैठकले दिवसका अवसरमा फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो।

समितिले अनुमोदन गरेअनुसार आजदेखि प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको हो। फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो। यसैको जगमा विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ।

दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ। सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here