उत्तराखण्ड बाढीमा मृतकको संख्या ५३ पुग्यो, तीन नेपालीको सनाखत


३ फाल्गुन २०७७, सोमबार १२:५१ मा प्रकाशित

काठमाडौँ । भारतको उत्तराखण्डमा गएको बाढीमा परी बेपत्ता भएकामध्ये ५३ जनाको शव भेटिएको छ ।

उनीहरुमध्ये तीन जना नेपाली रहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहानसम्म भेटिएका ५३ शवमध्ये २५ जनाको सनाखत भएको छ । उनीहरुमध्ये तीन जना नेपालीको सनाखत भएको देहरादुनस्थित पत्रकार महेश पाण्डेयले बताए ।

उनका अनुसार मृत्यु हुने तीनै जना कैलालीको टीकापुरका हुन् । उनीहरु सोहन चौधरी, शंकर चौधरीर विष्णु मल्ल रहेको पाण्डेयले बताए ।

अझै पनि १३० जना वेपत्ता छन् । वेपत्तामध्ये ३२ जना जलविद्युत आयोजनाको सुरुङभित्र रहेका छन् । उनीहरुको खोजी चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

अहिलेसम्म सुरुङभित्र पाँच जनाको शव फेला परेको छ । उद्धारमा खटिएको टोलीले सुरुङभित्र मजदूर सुरक्षित रहेको विश्वास गरेको छ ।

गत २५ माघ हिमनदीको माथिबाट खसेको पहिरोका कारण धौलीगंगामा बाढी आउँदा विद्युत्‌गृह बगाएको थियो । विद्युतगृहमा काम गरिरहेका मजदूरहरु बाढीको चपेटामा परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here