काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षक तथा कर्मचारीलाई प्राथमिकताका आधारमा कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ ।
शिक्षा मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध पत्र पठाएको हो ।
शिक्षा मन्त्रालयले प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको पत्रमा उल्लेख गरेको छ ।
यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायतक शैक्षिक सरोकारवाला निकायहरुले लाखौ विद्यार्थीसँग जोडिने र फ्रन्ट लाइनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।
शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले सबै शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न मन्त्री समक्ष आग्रह गरेको बताए ।
त्यस्तै, प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले पनि कोभिड–१९ खोप सबै किसिमका शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेको जानकारी दिए ।
बैठकमा मन्त्री श्रेष्ठले कोभिड–१९ खोप लगाउने अग्रपंक्तिको सूचीमा शिक्षकलाई राख्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको बताए ।





