काठमाडौं । चीनले सरकारले नेपाललाई पाँच लाख डोज कोभिडविरुद्धको खोप प्रदान गर्ने भएको छ। शुक्रबार साँझ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच भएको टेलिफोन वार्तामा चिनियाँ मन्त्री तथा स्टेट काउन्सिलरवाङले खोप उपलब्ध गराउने बताएका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार वाङले मन्त्री ज्ञवालीसँगको कुराकानीमा खोप सहयोगका विषयमा चीनले नेपाललाई प्राथमिकतामा राख्ने पनि बताएका छन्। ‘दुई मन्त्रीबीचको टेलिफोन कुराकानीमा आपसी हितका विषयहरुमा छलफल भएको थियो,’ परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार बेलुका जारी विज्ञप्तिमा बताइएको छ।
मन्त्री ज्ञवालीले चीन सरकारलाई धन्यवाद दिनुका साथै कोभिड खोपलाई विश्वकै सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउने चिनियाँ अवधारणाको प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त चिनियाँ खोप कहिलेसम्म आइपुग्ने सो मिति भने खुलाइएको छैन।
यसअघि तीन लाख डोज दिने भनी नेपालस्थित चिनियाँ दूतावासले घोषणा गरेको थियो। दुवै देशका मन्त्रीको वार्ता भएपछि सो परिमाणलाई बढाएर पाँच लाख डोज खोप नेपाललाई अनुदानमै प्रदान गर्ने घोषणा गरेका हुन्।





