प्रधानमन्त्रीसहित ३९ जनाविरूद्ध सभामुख सापकोटाले दर्ता गराए रिट


२३ माघ २०७७, शुक्रबार १३:१४ मा प्रकाशित

काठमाडौँ । संवैधानिक परिषद्द्वारा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नी सापकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

संसदीय सुनुवाइविना नियुक्ति गर्नु अवैधानिक रहेको भन्दै सापकोटाले राष्ट्रपति, प्रधानमन्त्रीसहित ३९ लाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् । रिटमाथिको सुनुवाइ आइतबार हुनेछ ।

संवैधानिक परिषद्बाट सिफारिस गर्न बहुमत नपुग्ने भएपछि प्रधानमन्त्री केपी ओलीले अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए परिषद् बैठक बस्न सक्ने गरी ३० मंसिरमा अध्यादेश ल्याएका थिए ।

अध्यादेशपछिको बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष मात्रै उपस्थित भएका थिए । तर, प्रतिपक्षी दलका नेता र सभामुख भने परिषद्को बैकठमा उपस्थित भएका थिएनन् ।

५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभिन्न संवैधानिक आयोगहरुमा नियुक्ति सिफारिस भएको सार्वजनिक भएको थियो । सिफारिस भएपछि संसदीय सुनुवाइ हुनुपर्ने प्रावधान छ । तर, ४५ दिनभित्र सुनुवाइ नभए स्वतः नियुक्ति हुने प्रक्रिया रहेको भन्दै गत बुधबार संवैधानिक आयोगका पदाधिकारीहरुको सपथ गराइएको थियो । ३८ पदाधिकारी सिफारिस भएको भए पनि ३२ जनाले सपथ लिएका थिए ।

त्यसरी प्रक्रिया नै नपुगी नियुक्ति गरिएको भन्दै सभामुख सापकोटाले असन्तुष्टि जनाएका थिए । १८ माघमा सापकोटाले नियुक्ति सिफारिससम्बन्धी पत्र संवैधानिक परिषद्मैं फिर्ता पठाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here