जापानमा कोभिड–१९ का कारण जारी संकटकाल एक महिना थप


२१ माघ २०७७, बुधबार ०९:०७ मा प्रकाशित

जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भइनसकेको भन्दै आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य सङ्कटकाललाई बढाएको छ ।

जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मङ्गलबार कोभिड–१९ महामारीको कारण लगाइँदै आएको सङ्कटकाललाई थप एक महिनाको लागि विस्तार गरेका हुन ।

यसैबीच राजधानीको उत्तरमा अवस्थित तोचिगी प्रान्तमा कोभिडको समस्या कम भएको भन्दै यसलाई आपतकालिन सूचीबाट हटाइने पनि प्रधानमन्त्रीले बताएका छन भने दक्षिण टापु ओकिनावा प्रान्तमा सङ्कटकाल थप गर्ने वा नगर्ने भन्ने निर्णय भइसकेको छैन ।

जापानी सरकारले सबैभन्दा पहिले ग्रेटर टोकियो क्षेत्र र ओसाकालगायत सघन आबादी भएका अन्य प्रमुख सहरी क्षेत्रहरु को लागी जनवरीमा घोषणा गरेको सङ्कटकाल यही फेब्रुअरी ७ सम्मका लागि रहेको थियो ।

आपतकालिन अवस्थाको घोषणा भएदेखि नै मानिसहरूलाई घरबाहिर अनावश्यक यात्रा गर्नबाट जोगिन र घरबाट काम गर्न आग्रह गरिएको छ ।

जापानभर मङ्गलबारसम्म तीन लाख ८९ हजार ५१८ व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजार ७२२ जनाको मृत्यु भएको छ । जापानको सबैभन्दा बढी प्रभावित राजधानी सहर टोकियोमा सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या एक लाखभन्दा बढी पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here