कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गतेबाट शुभारम्भ हुने


११ माघ २०७७, आईतवार १९:१५ मा प्रकाशित

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गतेबाट शुभारम्भ हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान १० बजे शुभारम्भ गरिने जानकारी दिएका हुन् ।

स्वास्थ्यमन्त्री त्रिपाठीले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा खोप लगाउने पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई खोप लगाएर खोप अभियानको शुभारम्भ गर्ने जानकारी दिए । मन्त्री त्रिपाठीका अनुसार उक्त खोप अभियान सातवटै प्रदेशका अस्पताल तथा काठमाडौंमा रहेका प्रमुख अस्पतालहरुमा भर्चुअल विधिबाट एकैसाथ शुभारम्भ हुनेछ ।

माग १४ गते सातै प्रदेशभित्रका ६२ वटा अस्पतालहरुमा र १ सय २० भन्दा बढी खोप केन्द्रहरुबाट कोरोना विरुद्धको खोप अभियान सुभारम्भ हुने मन्त्री त्रिपाठीको भनाई छ ।

१८ गतेभित्र देशका ७७ वटै जिल्लाका ३०० वटा खोप केन्द्र मार्फत खोप अभियान संचालन हुनेछ । मन्त्री त्रिपाठीले पहिलो चरणको खोप अभियान १० दिनभित्र सम्पन्न हुने बताउनुभयो । पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य रहेको मन्त्री त्रिपाठीले जानकारी दिए ।

मन्त्री त्रिपाठीले विश्वभर कोरोना विरुद्धको खोपको माग तिव्र रहेको समयमा सरकारको प्रयास र भारतको सहयोगले खोप प्राप्त भन्दै खोपको समुचित प्रयोग गरी खेर जान नदिने पनि बताए ।

सातै प्रदेशमा खोप अभियान संचालनका लागि टेकुस्थित राष्ट्रिय खोप भण्डारण केन्द्रबाट सातै प्रदेशका खोप भण्डारण केन्द्रमा आवश्यक खोप आइतबार पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here