काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा वालिङ नगरपालिकालाई ७–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो ।
आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् । यस्तै दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरिन् । जितसंगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा आर्मी नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । वालिङको यो पहिलो हार हो । वालिङले २ खेलमा १ अंक जोडेको छ ।
यस्तै आइतबार नै भएको अर्को खेलमा विराटनगर महानगरपालिकालाई ७–० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको छ । एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् ।
यस्तै अनिता केसीले २ गोल गर्दा सरु लिम्बुले एक गोल गरिन् । लगातार दोस्रो जितसंगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफले २ खेलमा ६ अंक जोडेको छ । विराटनगरको यो पहिलो हार हो ।





