काठमाडौँ । भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरूद्धको खोप उपलब्ध गराएको छ ।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतले १० लाख डोज उपलब्ध गराएको घोषणा गरेको हो । भारतले अनुदानमा दिएको खोप बिहीबार नै काठमाडौँ आइपुग्नेछ । प्राप्त खोप ३ ५ सफाइकर्मी, स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर वितरण गरिने जनाइएको छ ।
प्रथम चरणको यो खोपले नेपालमा अग्रपंक्तिमा खटिने योद्धाहरूलाई कोरोनाविरूद्ध लड्न मद्दत पु¥याउने नेपालका भारतीय राजदूत विनय मोहन क्वात्राले बताए । बाँकीका लागि दोस्रो चरणमा खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ ।
स्वास्थ मन्त्रालयमा अयोजित पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत क्वात्राले यो भ्याक्सिन नेपाललाइ पहिलो प्राथमिकतामा राखेर उपहार स्वरुप दिएको बताए ।
भारतले नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो ।भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ भारतमा गत शनिबारदेखि नै लगाइरहेको छ ।
औषधि व्यवस्था विभागले गत शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय गरेको थियो ।
कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । कोभिड भ्याक्सिन लगाउन महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २ लाखभन्दा बढी कर्मचारीको सूची स्वास्थ्य मन्त्रालयमा तयारी अवस्थामा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा आउने कोरोनाविरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरेको थियो ।
नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने सरकारको योजना छ । नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसंख्या रहेको र उनीहरूलाई खोप लगाइने छैन । सरकारले खोप ल्याउन ४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । कोरोनाविरुद्धको खोप भण्डारणका लागि सरकारले सबै तयारी पूरा भएको जनाएको छ ।





