काठमाडौँ । अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका जो बाइडेनले पहिलो विजयी सम्बोधन गर्दै सहकार्य र एकताको आह्वान गरेका छन् ।
देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै जो बाइडेनले अमेरिकी नागरिकले आफूलाई इतिहासमै सबैभन्दा बढी भोट दिएर जिताएकोमा सबैलाई साथ लिएर अघि बढ्ने बताए ।
सम्बोधनका क्रममा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्प विपक्षी भए पनि शत्रु नभएको उल्लेख गरे । ‘हामी विपक्षी हुन सक्छौँ, शत्रु कदापी होइनौँ । अब ‘राक्षसीकरण’ गर्ने समयको अन्त्य गरिनु पर्ने पनि उनले बताए।
उनले मतभेदलाई पाखा लगाएर जनताको सेवाका लागि सहकार्य गर्नु पर्ने बेला आएको र त्यसको सन्देश चुनाव मार्फत अमेरिकीले दिएको भन्दै सिनेट तथा हाउसमा रहेका रिपब्लिकनहरुलाई सहकार्यका लागि अपिल गरे।
‘म अब अमेरिकालाई कुनै रातो त कुनै नीलो राज्यका रूपमा रहन दिन्नँ। म अमेरिकाको राष्ट्रपति हुँ, कुनै पार्टीको होइन। म सबैसँग मिलेर काम गर्छु। म यस मुलुकको मेरुदण्डलाई फेरि उठाउँछु।’
जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको आँकडा पार गरेपछि उनी अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका छन्।
अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर तीनमा मतदान भएको थियो । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका थिए ।
सन् २००८ देखि २०१६ सम्म उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका बाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा अश्वेत महिला कमला ह्यारिसलाई चयन गरेका छन् ।
ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन् ।





