काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।
दाहालसहित शीर्ष नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बिहान सवा ११ बजे बालुवाटार पुगेका हुन् ।केन्द्रीय सचिवालय बैठक बोलाउन आग्रह गर्दै शीर्ष नेताहरू बालुवाटारमा भेला भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बालुवाटार पुग्नअघि आज पनि दाहालसहितका नेताहरूले पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेको बताइएको छ ।यसअघि शुक्रबार धुम्बाराहीमा अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउन ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।
एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै माधव नेपाल र दाहाल पक्ष ओलीसँग असन्तुष्ट छ । पछिल्ला घटनाक्रमपछि नेकपाका केही नेताहरूले प्रधानमन्त्री ओलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएको छ ।
विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल नेपाल समूह ओलीलाई पदच्युत गर्ने दाउमा लागेको बताइन्छ ।





