काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य सूर्य बहादुर केसीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ। केसीको निधनमा तीन दिन शोक मनाउने कांग्रेसले जनाएको छ।
आज आकस्मिक बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले केसीको निधनको शोक प्रस्ताव पनि पारित गरेको छ। कांग्रेसका सांसद तथा सफल व्यवसायी केसीको गएराति पोखरास्थित आफ्नै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो। उनी उच्च रक्तचाप र मधुमेहका विरामी थिए।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार कात्तिक १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, १९ गते देशभरका कांग्रेसका कार्यालयहरु बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय भएको हो।





