बाराको कपडा उद्योगमा आगलागी


११ कार्तिक २०७७, मंगलवार १९:२९ मा प्रकाशित

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ।

कपडा उद्योगमा मंगलबार दिउँसो आगलागी भएको हो। आगलागीबाट करिब एक करोड रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रुद्र राज कण्डेलले जानकारी दिए।

आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो।

कपडा उद्योगमा वेल्डिङ गर्दा भुसमा आगो सल्किएर उद्योगभर फैलिएको प्रहरीको प्रारम्भिक अनुमान छ।

आगलागीमा परेर उद्योगमै कार्यरत एक मजदुर घाइते भएका छन्। घाइते हुनेमा भारतीय नागरिक २३ वर्षका सतिषकुमार महतो रहेका छन्। उनको दायाँ हात र अनुहारमा आगोले पोलेको छ। उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here