झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहनगर दमकमा आज ५० शैयाको अस्पताल अनलाइनबाट सम्बोधन गरेर शिल्यान्यास गरेका छन् ।
कार्याक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माण गर्ने अभियानमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । अस्पताल निर्माणले जिल्लाका अन्य पालिका सहित पहाडी जिल्लाका जनतालाई समेत सेवा पुग्ने भएकाले सुविधा सम्पन्न दमक अस्पताल निर्माण महत्वपूर्ण हुने उनले बताए ।
प्रधानमन्त्री ओलीले अर्को प्रसङ्गमा कोभिड १९ का कारण केही भौतिक विकासका प्रयास केही ढिलासुस्ती भएकोले विपक्षीले नकरात्मक तवरले टिका टिप्पणी गर्ने गरेको बताए । यस्तो महामारीका बावजुद पनि विकासका गतिविधिहरु भने धेरै भएको उनले दावी गरे ।
बढ्दै गएको कोरोना नियन्त्रण गर्दै विकासका गतिविधि समेत गर्ने र कोरोना न्यूनिकरण गर्न सरकार उच्च प्राथमिकताका साथ अघि बढेको उनले बताए ।
दमक अस्पताल झण्डै एक विगाह क्षेत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २० करोड ४ लाखमा ठेक्का लगाई भवन निर्माणको शिल्यान्यास गरिएको दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीले बताइन् । भूँइतलामा गाडी राख्न मिल्ने ३ तले ५० शैयाको अस्पताल निर्माण थालिएको छ ।
कार्याक्रममा अनलाइन एप जुम मार्फत प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राई संक्रमण रोक्न सवै सचेत हुन आग्रह गरे ।
कार्याक्रममा प्रदेशका अन्य मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरु जोडिएका थिए । अनलाईन मार्फत अस्पतालको शिल्यान्यस गरिएको कार्याक्रममा नगरका राजनैतिक, सामाजिक र स्वास्थ्य क्षेत्रका जिम्मेवार प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।





