कैलाली असई हत्या प्रकरणः ११ जना शंकास्पद पक्राउ


२ कार्तिक २०७७, आईतवार १५:१५ मा प्रकाशित

कैलाली । कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु छन् । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन ।

सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए अनुसार पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको छ ।

विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिएका छैनन् । नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ, नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको छ ।

असई विकले अस्थायी प्रहरी बिट, जुगेडाको नेतृत्व गरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here