झापामा एक युवकको हत्या गरी बाँसघारीमा फालिएको शव फेला


२८ आश्विन २०७७, बुधबार १३:०९ मा प्रकाशित

झापा । झापामा एक युवकको हत्या भएको छ । कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा खोलाको डिलमा रहेको बाँसघारीमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई हत्या गरी फालिएको शव फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

स्थानीयले बुधवार बिहान ९ बजे बाँसघारीमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली तत्काल घटनास्थल पुगेका थिए ।

शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानले देखाएको डिएसपी थापाले बताए । चौधरीको अनुहारमा धारिलो हतियार प्रहार गरेकोले घटना रहस्यमय बनेको उनले बताए ।

अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाट समेत थप प्रहरी टोली परिचालन गरिसकेको बताउँदै उनले भने, ‘घटनास्थललाई प्रहरीले सिल गरेर अनुसन्धान गर्दैछ, धरानबाट तालिम प्राप्त कुकुर आइरहेको छ । त्यसपछि मात्र घटनाको अनुसन्धान तीव्र गतिले अघि बढ्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here