उपभोक्ता मारमा परेको भन्दै संरक्षण मञ्चद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र


२१ आश्विन २०७७, बुधबार १८:१० मा प्रकाशित

झापा । नेपाली उपभोक्ता मारमा परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश नम्बर १ समिति र बिर्तामोड नगर समितिले जिल्ला प्रशासन कार्यालय झापालाई ध्यानार्कषण गराउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ज्ञापनपत्र पठाएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश नम्बर १ समितिका सदस्य यमनाथ बिमली र बिर्तामोड नगर समितिका अध्यक्ष ओमभक्त सेढाईले १६ बुँदे सो ज्ञापनपत्र झापाका प्रमुख जिल्ला अधिकारी श्रावणकुमार तिमिल्सिनालाई बुझाएका हुन् ।

कोरोना कहरले नेपाली बजारमा कृतिम अभाव, कृतिम मूल्य निर्धारण, गुणस्तरहीन वस्तु र सेवाको उत्पादन, नापतौलमा ठगी, तरकारी खाद्यान्न जस्ता वस्तुमा विषादी प्रयोग र अखाद्य वस्तुको बिक्री, सिन्डीकेट, कार्टेलिङ्ग, कालोबजारी, एकाधिकारपूर्ण व्यापारीक क्रियाकलापहरुले उपभोक्ता शिकार हुन परेको मञ्चले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा कोरोना महामारीले बजारमा कालोबजारी मौलाएकाले तत्काल बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने, चाड पर्व लक्षित नभई अन्य समयमा पनि बजार अनुगमन गर्नु पर्ने लगायतको ध्यानकर्षण गराईएको छ ।

मुलुकका प्रतिष्ठित व्यापारी एवम् अवैतनिक व्यक्तिहरु समेत स्वास्थ्य सामाग्रीको कालोबजारीमा सक्रिय रहनु, चिनीको आयातमा परिमाणात्मक बन्देजपछि एक्कासी चिनीको मूल्य बृद्धि हुनु, ३० देखि ३५ रुपैयाँमा बजारमा अहिले खुद्रामा विक्रि भइरहेको पानीको खुद्रा मूल्य ५० रुपैयाँ तोकिनु, नियमनको प्रभावकारी व्यवस्था विना बस्तुको प्रत्यक्ष बिक्रीको नाउँमा खुला रुपमा नेटवर्किङ्ग व्यवसायलाई अनुमति दिनु, प्याजको मूल्यमा दुई गुणाले बढनु, वाली लगाउने समयमा रसायनिक मलको चरम अभाव हुनु, विउ र तरकारीको आपुर्ति र मूल्यमा संस्थागत भइरहेको कृतिम अभाव र कालोबजारी, कोभिड‐१९ महामारीको अवस्थामा ५० प्रतिशत यातायातमा भाडा बृद्धिको निर्णय गर्नु तर स्वास्थ्य मापदण्ड पालना गराउने तर्फ पटक्कै ध्यान नदिएर बढी भाडा असुल्न, करौडौ मूल्यका म्याद गुज्रेका खाद्य वस्तुमा नयाँ लेवल लगाउने कारखानाहरु एकपछि अर्को देखिदै जानु, त्यस्ता सामाग्री बजारबाट फिर्ता र नष्ट नगर्नु, अनुगमनको क्रममा देखिएका दोषी व्यापारीलाई तारेखमा छाडने जस्ता गतिविधि तुरुन्त बन्द गराउन ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा बुझ्दै झापा प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले स्थानीय तहसँगको सहकार्यमा अहिले बजार अनुगमनलाई तिब्रता दिएको जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here