राजस्थानलाई हराउँदै मुम्बई आइपीएलको शीर्ष स्थानमा


२१ आश्विन २०७७, बुधबार १०:०१ मा प्रकाशित

काडठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा भएको पछिल्लो खेलमा राजस्थान रोयल्सलाई हराउँदै मुम्बई इन्डियन्स ​अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राती भएको २० औं खेलमा मुम्बईले राजस्थानलाई ५७ रनले पराजित गरेको हो।

शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै मुम्बईलाई १९४ रन लक्ष्य दिएको थियो। मुम्बईले दिएको लक्ष्य पछ्याएको राजस्थान १८।१ ओभरमा जम्मा १ सय ३६ रन बनाउँदै अल आउट भयो।

राजस्थानका ओपनर जस बटलरले ७० रन बनाएपनि त्यो टोलीको जितका लागि पर्याप्त भएन। मुम्बईका लागि जसप्रीत बुमराहले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। सूर्यकुमार यादवले टोलीका लागि ७९ रनको अविजित पारी खेले। राजस्थानका लागि श्रेयस गोपालले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए।

अहिलेसम्म खेलेका ६ खेलमा ४ जित र २ मा हारसहित ८ अंक बनाउँदै मुम्बई शीर्षस्थानमा उक्लिएको छ। दिल्ली क्यापिटल्स ५ खेलमा ४ मा जित र १ मा हार सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। बेंगलोर ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ। प्रतियोगिता अन्तर्गत बुधवार कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्‌ग्स भिड्ने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here