मेची अस्पतालमा दुई महिने शिशुको मृत्यु भएको तीन घण्टापछि कोरोना पुष्टि


२१ आश्विन २०७७, बुधबार ०९:१९ मा प्रकाशित

भद्रपुर । मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएका दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको हो। मृतक शिशुमा संक्रमण पुष्टि भएपछि उनको घर आसपास तथा छरछिमेकमा त्रास बढेको छ।

भद्रपुर नगरपालिका–८ का शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो। स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठसहित नगरपालिकाको स्वास्थ्य शाखाका टोली शिशुको घर पुगेको छ। परिवारजनले शव बुधवार दाहसंस्कार गर्ने तयारी गरेका थिए। तर, नगर स्वास्थ्य शाखाले शिशुको दाहसंस्कार लागि नेपाली सेनालाई जिम्मा लगाउन लागेको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए।

संक्रमित शिशुको शवलाई उनका परिवारका सदस्यसहित छरछिमेकले छोएको जानकारी आएकाले त्यहाँ स्वाब सङ्कलनको तयारी भइरहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here