काठमाडौं । अमेरिकाले कम्युनिष्ट पार्टीको सदस्य रहेका व्यक्तिलाई ग्रिनकार्ड नदिने प्रष्ट गरेको छ ।
नागरिकता र आप्रवासीसम्बन्धि नीति पुनरावलोकन गर्दै अमेरिकी सरकारले सर्वसत्तावादी निरंकुश पार्टीका सदस्यहरुलाई रोक लगाइने जनाएको हो ।
युएस सिटिजन एण्ड इमिग्रेसन सर्भिसले कम्युनिष्ट वा सर्वसत्तावादी निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्डबारे सम्बोधन गर्न नयाँ निर्देशिका नै जारी गरेको हो ।
अमेरिकाको शान्ति सुरक्षाको जोखिम सम्बोधन गर्न कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिन अमेरिकी संसदले सन् १९५० मै पारित गरेको कानुनमा घरेलु वा विदेशी कम्युनिष्ट वा निरंकुश पार्टीमा आवद्ध रहेका वा सदस्य आप्रवासी, अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्न अयोग्य हुने उल्लेख छ ।
नयाँ निर्देशिकाले भने कस्तो अवस्थामा अयोग्य हुने र कस्तो अवस्थामा तिनीहरुले ग्रिनकार्ड पाउन सक्ने भन्ने विस्तृत व्याख्या गरेको छ । जसअनुसार आवेदक संलग्न पार्टी कम्युनिष्ट वा निरंकुश होइन भने ग्रिनकार्ड पाउन सक्ने भनिएको छ ।
आवेदक संलग्न पार्टी कम्युनिष्ट वा निरंकुश भएको ठहरिए ती पार्टीमा आवेदकको संलग्नता सदस्य स्तरको हो वा होइन हेरी सदस्यता स्तरको नभए ग्रिनकार्डका लागि योग्य मानिने जनाइएको छ ।
आवेदकको संलग्नता सदस्यता स्तरको भएमा त्यो कति अर्थपूर्ण हो निर्क्यौल गरी अर्थपूर्ण नठहरिए ग्रिनकार्ड दिन सकिने उल्लेख छ । तर अर्थपूर्ण सदस्यता भएपनि त्यो आवेदकको इच्छाविपरित थियो, सदस्यता लिँदाको उमेर १६ वर्ष मुनिको थियो भने ग्रिनकार्ड पाउन सक्ने भनिएको छ ।





