बुटवल । प्रदेश ५ को नेकपा संसदीय दलले बैठक आव्हान गरेको छ। गत शुक्रबार प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफल गर्न भन्दै संसदीय दलको बैठक आव्हान गरेको हो।
बिहान ७ बजेका लागि बैठक बोलाइएको भएपनि सांसदहरु आउने क्रम जारी रहेकाले केहि ढिलो गरी बैठक बस्ने नेकपाका मुख्य सचेतक भुमीश्वर ढकालले जानकारी दिए। उनका अनुसार सरकारले पेश गरेको प्रदेशको राजधानी र नामका बिषयमा सांसदहरुको धारणा लिनका लागि बैठक बोलाइएको हो।
राजधानी बुटवलबाट दाङ सार्न नेकपाकै कतिपय सांसद मानेका छैनन्। विपक्षी नेपाली कांग्रेसले आन्दोलन गरिरहेको छ । रूपन्देही, कपिलवस्तु, पाल्पालगायत जिल्लाका नेकपा सांसदले पनि राजधानी सार्ने विषयमा असन्तुष्टि जनाएका छन् । शनिबार पाँच घण्टा यसबारे उनीहरू छलफलमा जुटेका थिए।
शनिबार केही निर्णय नभएपछि आज पुनः नेकपा संसदीय दलले बैठक राखेको हो। बैठकमा नाम र राजधानीका बिषयमा सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्ने बुझिएको छ। पार्टीले ह्वीप लगाउने बिषयमा अहिले सम्म कुनैपनि निर्णय नआएकाले पार्टीले निर्णय नगर्दा सम्म संसदीय दलले निर्णय नगर्ने बताइएको छ।





