काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव नियुक्त भएका हुन् । मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्दै प्रवक्ता ज्ञवालीले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूतका लागि सिफाारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै बिहीबार नै राजीनामा दिनुभएका रेग्मीलाई बेलायतका लागि राजदूत र दक्षिण अफ्रिकाको राजदूतका लागि निर्मल कुमार विश्वकर्माको नाम सिफारिस गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकले आर्थिक ऐनका केहि दफामा रहेका करका दरहरुलाई घटाउने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई आफ्नो अनसन फिर्ता लिन आग्रह गरे । सबै नागरिकलाई कसरी जोगाउने भनेर सरकारको ध्यान केन्द्रीत भएको अवस्थामा अनशन, सत्याग्रह, धर्ना जस्ता विषय सुहँदो नभएको उनले बताए । ज्ञवालीले केसीका धेरै माग पुरा भइसकेका र पूरा गर्न बाँकी रहेका मागकाविषयमा छलफल गर्न सकिने बताए ।





