६ महिनापछि आन्तरिक उडान आजबाट फेरि सुरू


५ आश्विन २०७७, सोमबार १२:०५ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको महामारीले बन्द भएका आन्तरिक उडान आजबाट फेरि सुरू भएका छन् ।

सरकारले ९ चैतदेखि बन्द गरेको आन्तरिक उडान आज सुरू भएको हो । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आज बिहान ७ बजेर ४३ मिनेटमा नेपाल एयरलाइन्सले काठमाडौँबाट भोजपुर उडान गरेको छ ।

उक्त उडानबाट १६ जना यात्रुले सेवा लिएका छन् । त्यसअघि आजै समिट एयरले काठमाडौँबाट लुक्काका लागि चार्टर उडान गरेको उनले जनाए । ९ यात्रुसहित समिट एयर बिहान ७ बजेर ४० मिनेटमा उडेको उनले बताए ।

आन्तरिक उडान खुलेसँगै विभिन्न हवाई कम्पनीले आज ५३ देखि ५५ वटासम्म उडान गर्न लागेको प्रवक्ता क्षेत्रीले बताए ।शुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने निर्णय बमोजिम दैनिक ३६–४० नियमित उडान र बाँकी चार्टर हुने उनले बताए ।

उडान सुरू भएसँगै त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलतर्फ पनि चलहपहल बढेको छ । यात्रुले सुरक्षा सतर्कताको प्रकिया अपनाउँदा कम्तिमा १ घण्टाको समय गुजार्नु पर्ने भएकले कम्तिमा २ घण्टाअघि नै एयरपोर्ट पुग्न आह्वान गरिएको छ ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

आन्तरिक उडान गर्ने बिमान कम्पनीहरुको संस्था वायुसेवा सञ्चालक संघले पूरा यात्रु राखेर उडान गर्न पाउनु पर्ने माग राखेपछ सरकारले गत शुक्रबार पूरै यात्रु राख्न दिने अनुमति दिएको थियो । सो लगत्तै विमान कम्पनीहरूले टिकट बुकिङ खुला गरेका थिए । अहिलेसम्म टिकट बुकिङ सन्तोषजनक नै रहेको बायु सेवा सञ्चालकहरूले जनाएका छन् ।

पूरै सिट क्षमतामा यात्रु राख्न पाइने भएपछि पूरानै भाडादरमा उडान भएका छन् । महामारीको समयमा आर्थिक गतिविधि चलायमान नहुँदा यसले यात्रुलाई राहत मिल्ने संघका प्रवक्ता योगराज कँडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here