कोरोना भाइरस परीक्षण मापदण्ड फेर्ने सरकारको तयारी


५ आश्विन २०७७, सोमबार ०७:४१ मा प्रकाशित

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको नीति परिवर्तन गरी लक्षण देखिएकाको मात्र परीक्षण गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले हाल प्रचलित परीक्षण र कन्ट्याक्ट ट्रेसिङको नीति परिवर्तन गर्ने तयारी रहेको बताए । उनले बिरामीको मात्रै उपचार गर्ने अथवा बिरामीको मात्रै परीक्षण गर्ने हो कि भन्नेमा मन्त्रालय रहेको बताए ।

आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित ‘कोरोना भाइरसको जोखीम न्युनीकरणमा सरकारले चालेका कदमहरुको अध्ययन तथा अनुगमन उपसमिति’ले सिंहदरबारमा बैठक राखेको थियो ।

उक्त बैठकमा सचिव अर्यालले खर्च कटौतीका लागि पनि हालको कोरोना परीक्षण र यसको कन्ट्याक्ट ट्रेसिङको मोडल परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले दिनमा टेष्टमा ६.७ करोड खर्च गरेका छौं । ट्रिटमेन्टमा करिब करिब दिनमा ६.७ करोड खर्च गरेका छौं । १२ करोडको प्रतिदिनको खर्च अस्पताल पूर्वाधार सुधारमा लगाउन पाइयो भने संक्रमित जो लक्षण देखिएका छन् उहाँहरुले क्वालिटीको सर्भिस पाउन सक्नुहुन्थ्यो ।’

हाल सरकारले कोरोना भाइरसको लक्षण देखिएका, कोरोना संक्रमित क्षेत्रबाट आएका, अप्रेसन गर्नुपर्ने बिरामी, विदेशबाट आई क्वारेन्टाइनमा बसेका र संक्रमितको निकट सम्पर्कमा रहेकाहरुको कोरोना परीक्षण गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here