हजारौं संक्रमित थपिएपछि इजरायलमा फेरि लकडाउन


२९ भाद्र २०७७, सोमबार १०:३५ मा प्रकाशित

 एजेन्सी । दिनहुँ चार हजारभन्दा धेरै संक्रमित थपिन थालेपछि इजरायलले फेरि देशभर लकडाउन घोषणा गरेको छ।

यहुदी नयाँ वर्ष मनाउने तयारी गरिरहेका इजरायलबासीले यो पटक कडा प्रतिबन्ध सामना गर्नुपर्नेछ। आउँदो शुक्रबारदेखि तीन सातासम्म लागु हुने गरी लकडाउन घोषणा गर्न लागिएको बीबीसीमा उल्लेख छ।

प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले लकडाउन नलगाए ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्। सरकारले लकडाउन लगाउने निर्णय गरेपछि यसको विरोधमा रहेका एक मन्त्रीले राजीनामा नै दिएका छन्।

सत्ताधारी गठबन्धनमा रहेको सो दलले सरकारबाट समर्थन फिर्ता लिने चेतावनी पनि दिएको छ। अमेरिकाको जोन्स होप्किन्स विश्वविद्यालयले तयार पारेको आंकडाअनुसार इजरायलमा अहिलेसम्म एक लाख ५३ हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

एक हजार १०८ जना संक्रमितको ज्यान गएको छ। इजरायलले यसअघि मार्चको अन्तिम सातादेखि मे को पहिलो सातासम्म लकडाउन लगाएको थियो। तर महामारी नियन्त्रणमा नआएपछि फेरि लकडाउन गर्न लागिएको इजरायली अधिकारीहरुले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here