काठमाडौँ । पार्टीको आन्तरिक विवादले पटकपटक स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक डेढ महिनापछि डाकिएको छ ।
गत साउन १३ देखि अनिश्चित बनेको स्थायी कमिटी बैठक भदौ २६ मा हुने गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन् । सोमबार बिहान महासचिव विष्णुप्रसाद पौडेलसहित अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण पटकपटक स्थगित हुँदै आएको थियो । नेतृत्वको कार्यशैली र सरकार सञ्चालनमा असहमती जनाउँदै बहुसंख्यक स्थायी कमिटी सदस्यले ओलीको राजीनामा मागेपछि बैठक भाँडिएको थियो ।
विवाद उत्कर्षमा पुगेपछि महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्दै विवाद हल गर्ने प्रयास भएको थियो । उक्त कार्यदलले भदौ ६ मा बुझाएको प्रतिवेदनले ओलीलाई महाधिवेशनसम्म दुबै पदमा र दाहाललाई पूर्ण कार्यकारी अधिकारसहितको जिम्मेवारी दिन सुझाव दिएपछि तत्काललाई विवाद हल हुने ठानिएको छ ।
कार्यदलले सुझाव प्रतिवेदन पेश गरेपछि नेकपाको सचिवालय बैठकमासमेत बसिसकेको छ। १८ भदौको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णय गरिसकेको छ । अब स्थायी कमिटी बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसअघि ओली र दाहालबीच ठोस सहमति जुटाउने तयारी छ ।





