कञ्चनपुर । कृष्णपुर नगरपालिकाले क्वारेन्टाइनमा करेन्ट लागेर राधादेवी ओडको मृत्युको छानबिन सुरु गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीको संयोजकत्वमा समिति गठन गरी शुक्रबारदेखि छानबिन सुरु गरिएको हो। वडा नम्बर ६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी स्थानीय २२ वर्षीया ओडको करेन्ट लागेर मृत्यु भएपछि साउन २९ मा उनका परिवारसहितको सर्वदलीय बैठकमा समिति गठन गरी छानबिन गरी दोषीलाई कारवाही गर्ने निर्णय गरिएको थियो।
नगरप्रमुख कर्णबहादुर हमालले पीडित परिवारसहितको बैठकमा गरिएको निर्णय अनुसार नगरपालिकाले समिति गठन गरी छानबिन सुरु गरेको बताए। ‘क्वारेन्टाइनमा एउटा दुःखद् घटना भयो,’ उनले भने, ‘त्यसको छानबिन गर्ने नगरपालिकाको प्रतिवद्धता थियो, त्यसै अनुसार प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा समिति गठन गरी छानबिन अघि बढाएको छ।’ छानबिन समितिले शुक्रबार प्रमुख हमालसहित टोली क्वारेन्टाइनमा पुगेर जानकारी लिएको छ।
समितिले अन्य सरोकारवाला पक्षसित जानकारी लिएर १५ दिनभित्र प्रतिवेदन नगरपालिकालाई बुझाउने जिम्मेवारी पाएको छ। समितिमा इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्द, कानुनी व्यवसायी पुष्पविक्रम शाही, विद्युत् प्राधिकरण र पीडित परिवारका आफन्त सदस्य छन्। नगरपालिकाले मृतक ओडको परिवारलाई १० लाख रुपैयाँ सहयोग र उनका श्रीमानलाई जागिर दिने निर्णय यसअघि नै गरिएको छ।





