पर्सा । गम्भीर बिरामी एकजना युवतीलाई निजी अस्पतालले उपचार गर्न नमान्दा ज्यान गएपछि उनका आफन्तहरुले वीरगञ्जस्थित नारायणी अस्पतालमा तोडफोड गरेका छन् ।
सरकारले केही दिनअघि मात्रै यो अस्पताललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेपछि सर्वसाधरणको आक्रोश चुलिएको थियो । अन्य रोगका बिरामीको निजीले उपचार गर्न नमानेको अवस्थामा नारायणी अस्पताललाई जनरल अस्पताल कायमै गर्नुपर्ने माग उठ्दै आएको छ ।
वीरगञ्जमा सञ्चालित नेशनल मेडिकल कलेजसहित कुनै अस्पतालले पनि ज्वरो आएकासहित कुनै पनि बिरामीको उपचार गर्न नमानेपछि सर्वसाधारणले नारायणी अस्पताललाई जनरलमा परिणत गर्नुपर्ने बताउँदै आएका छन् ।
यस्तोमा नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया युवतीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएसँगै तनाव बढेको हो । उनलाई वीरगञ्जका कुनै पनि निजी अस्पतालले उपचार गर्न अस्वीकार गरेका थिए ।
निजीले उपचार अस्वीकार गरेको अवस्थामा सरकारी अस्पताललाई जनरल बनाउन सकेमा अन्य रोगका बिरामीले यसरी मर्नु नपर्ने उनीहरुको मत छ । आक्रोशित भिडले आइतवार बिहान नारायणी अस्पतालमा तोडफोड गरेको अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
तोडफोडबाट डा. उपाध्यायकै गाडीमा क्षति पुगेको छ । त्यसैगरी डा. उदयनारायण सिंहको गाडी पनि तोडफोड गरिएको छ । उक्त समूहले कोभिड–१९ को स्वाब संकलन गर्ने बुथ र सेनिटाइज गर्ने मेसिन पनि तोडफोड गरेका छन् । उनीहरुले अस्पतालमा राखिएका अन्य सामाग्रीमा पनि क्षति पुर्याएका छन् ।
ज्यान गुमाएकी ती युवतीलाई निजी अस्पतालले नलिएपछि नारायणी अस्पतालमा कोभिडको सिन्ड्रम अनुमान गरेर गण्डक कोभिड अस्पतालमा लगिएको थियो । नारायणीमा पछिल्लो पटक ३८ जना स्वास्थ्यकर्मी आफैं संक्रमित भइसकेका छन् । नारायणी अस्पतालले सबै सेवा दिन नसक्ने अवस्था रहेको उपाध्यायले बताए ।
यसबीचमा सरकारले वीरगञ्जमा कोरोना फैलिइसकेपछि पुनः कोभिड अस्पताल बनाउन भनेर पत्र पठाएको छ । वीरगञ्जमा हाल गण्डक अस्पताल र वीरगञ्ज हेल्थ केयरलाई कोभिड अस्पताल बनाइएको छ । गण्डकले थेग्न नसकेपछि वीरगञ्ज हेल्थ केयरलाई पनि कोभिड अस्पताल बनाइएको छ । वीरगञ्ज हेल्थ केयरमा एक सयदेखि डेढ सयसम्म विरामी छन् भने गण्डकमा ६२ जना बिरामी छन् ।





