काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षसहितका नेताबीचको सत्ता संघर्षले चरम रुप लिँदै गएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई थाहै नदिई एकलौटी रुपमा मंगलबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरेपछि अहिले दुबै गूट आन्तरिक छलफलमा छन् । स्थायी कमिटी बैठकका लागि नेताहरु बालुवाटार पुगिसकेका समयमा एकाएक ओलीले बैठक स्थगित गरिदिएपछि क्रूद्ध बनेका दाहाल, माधव नेपाललगायतका नेताले बालुवाटारमै आन्तरिक छलफल गरेका छन् ।
ओलीको अनुपस्थितिमै भए पनि स्थायी कमिटी बैठक गर्नुपर्ने पक्षमा दाहाल–नेपालका अधिकांश नेता रहेका छन् । औपचारिक रुप नदिएपनि अनौपचारिक रुपमा स्थायी कमिटीका सदस्यहरु छलफलमा जुटेका छन् । ओली पक्ष पनि प्रधानमन्त्री निवासभित्रै दाहाल–नेपालले स्थायी कमिटी बैठक चलाएका त्यसको प्रतिकारको रणनीति बनाउन गूट छलफलमा जुटेका छन् ।
ओलीनिकट संसदीय दलका उपनेता सुवास नेम्बाङले भने स्थायी कमिटी बैठक औपचारिक रुपमा स्थगन भइसकेकाले दाहाल–नेपालले बैठक चलाउन नसक्ने प्रतिक्रिया दिएका छन् । दाहाल–नेपालले खुमलटारमा गर्ने गरेको बैठक बालुवाटारमा हुने बाहेक उहाँहरुले अरु केही गर्न नसक्ने उनको भनाइ छ ।





